रसुवा बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४१ जना अस्पतालमा उपचाररत
राति ११ः०५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी प्रभावित विभिन्न ७ जिल्लामा गरी १५७ जनाको शव फेला परेको हो ।
काठमाडौं । रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। राति ११ः०५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी प्रभावित विभिन्न ७ जिल्लामा गरी १५७ जनाको शव फेला परेको हो ।
नेपाल प्रहरीले दिएको विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार बाढी तथा पहिरोका कारण २८ जना प्रहरी कर्मचारीसमेत अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, बाढीमा परी घाइते भएका ४१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । तीमध्ये २० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा, ४ जनाको ट्रमा सेन्टरमा, ४ जनाको वीर अस्पतालमा, १ जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा, ३ जनाको नर्भिक अस्पतालमा र ९ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्रता दिएका छन् । बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी र घाइतेको उद्धार तथा उपचारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।
