जलविद्युत आयोजनाका १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन, खोजी जारी
रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा नेपालीसँगै विदेशी कामदारसमेत रहेका छन् ।
काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा नेपालीसँगै विदेशी कामदारसमेत रहेका छन् ।
प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन् । त्यस्तै, चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र आसपासका एक जना सम्पर्कमा आएका छैनन् ।
चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्को कम्पनीमार्फत त्रिशूली–३ बी आयोजनामा कार्यरत ११ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । रसुवागढी जलविद्युत केन्द्रमा कार्यरत ५१ जना सम्पर्कमा आए पनि अन्य कर्मचारी तथा कामदारको अवस्था अझै अज्ञात रहेको छ ।
यस्तै, त्रिशूली–३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मत कार्यमा खटिएका ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन छन्। प्राधिकरणअन्तर्गतका त्रिशूली र देविघाट जलविद्युत केन्द्रमा कार्यरत एक–एक जना कर्मचारीसमेत सम्पर्कबाहिर छन् ।
रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना तथा गोटागन्तीका एक मिटर रिडर पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी, त्रिशूली २२० केभी ३ बी हबमा ठेकेदार कम्पनीमार्फत कार्यरत १६ जना तथा रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न ठेकेदार कम्पनीमार्फत मर्मतसम्भार र निर्माण कार्यमा खटिएका ९२ जना पनि सम्पर्कविहीन छन् ।
बाढीपछि नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेर अवस्थाको अनुगमन गरेको छ । श्रेष्ठले सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी तथा उद्धारका लागि प्राधिकरणको टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोलीसमेत स्थानीय क्षेत्रमा परिचालन गरिएको छ ।
सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कामदारको विवरण संकलन गर्दै खोज तथा उद्धार कार्य जारी राखिएको छ ।
