रसुवाको बाढीले बगाएर ल्याएका ४८ शव चितवनमा फेला
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर चितवनसम्म ल्याएका ४८ जनाको शव फेला परेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार चितवन क्षेत्रभित्र पर्ने त्रिशूली र नारायणी नदीमा खटिएका सुरक्षाकर्मीले आज ४८ जनाको शव बाहिर निकालेका हुन् ।
बाढी त्रिशूली नदी हुँदै नारायणीमा आएपछि हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि प्रहरी प्रशासन परिचालन गरिएको थियो । सोही क्रममा देवघाटभन्दा माथि र तल नारायणी नदीको विभिन्न स्थानबाट ४८ जनाको शव फेला पारिएको एसपी पौडेलले जानकारी दिए ।नदीमा बाढीको बहाव अझै उच्च रहेकाले साँझपछि खोजी तथा उद्धार कार्य रोकिएको छ । भोलि बिहान उज्यालो भएलगत्तै पुनः खोजी तथा उद्धार कार्य सञ्चालन गरिने प्रहरीले जनाएको छ।
फेला परेका शवको व्यवस्थापन अहिले प्रशासनका लागि चुनौती बनेको छ । हालसम्म भेटिएका शव भरतपुर अस्पतालमा व्यवस्थापन गरिँदै आए पनि एकैपटक ३० भन्दा बढी शव आएपछि अस्पतालमा व्यवस्थापन गर्न कठिनाइ भएको एसपी पौडेलले बताए । उनका अनुसार शव व्यवस्थापनका लागि भोलि वैकल्पिक स्थानको खोजी भइरहेको छ ।
