भोटेकोशी बाढी: उद्योग वाणिज्य महासंघद्वारा सर्वसाधारण र व्यवसायीलाई सतर्क रहन आग्रह
महासंघले बाढीको प्रभाव मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने तथा त्रिशूली नदीसँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गरेको छ ।
महासंघले बाढीको प्रभाव मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने तथा त्रिशूली नदीसँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेकाले तत्काल उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरकारी निकायले पृथ्वी राजमार्गसहित उक्त करिडोरका सडकमा आवागमन रोक्न आग्रह गरिरहेको अवस्थामा महासंघले प्रभावित तथा तटीय क्षेत्रका उद्योगी-व्यवसायी, सर्वसाधारण र यात्रुहरूलाई सुरक्षित रहन अपिल गरेको हो ।
महासंघले आफ्ना मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र सम्पूर्ण उद्योगी-व्यवसायीलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा जुट्न आग्रह गरेको छ ।
बाढीबाट भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो क्षति भएको देखिएको महासंघले जनाएको छ। महासंघले विपद्मा परी प्रभावित भएका सर्वसाधारण, तीर्थयात्री, जनसमुदाय तथा उद्योगी-व्यवसायीप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।
त्यसैगरी, महासंघले विपद्का कारण घर, पसल, सवारीसाधन, पुल तथा जलविद्युत् आयोजनालगायतका संरचनामा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै आगामी पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा समेत आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।
