भोटेकोशी बाढीपछि काठमाडौं महानगरको उद्धार तयारी तीव्र, नुवाकोटमा ४ एम्बुलेन्स परिचालन
थप दुईवटा एम्बुलेन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ ।
काठमाडौँ । भोटेकोशी नदीमा बुधबार आएको आकस्मिक भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि काठमाडौं महानगरपालिकाले उद्धार तथा राहतका लागि आफ्नो तयारी तीव्र बनाएको छ ।
महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको हो। बैठकले विपद्पछिको प्रतिकार्य सञ्चालनसँगै आवश्यक समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवं विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई जिम्मेवारी तोकेको छ ।
महानगरपालिकाले सञ्चालन गरेका चारवटा एम्बुलेन्स तत्काल उद्धार तथा स्वास्थ्य सेवाका लागि नुवाकोटतर्फ पठाएको छ। थप दुईवटा एम्बुलेन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको महानगरले जनाएको छ ।
यस्तै, महानगरपालिकाअन्तर्गत कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार परिचालन गर्ने निर्णय बैठकले गरेको छ। बाढीबाट घाइते तथा प्रभावित बिरामीका लागि आवश्यक औषधिसमेत उपलब्ध गराउने तयारी महानगरले गरेको छ ।
महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका लागि आवश्यकताअनुसार थप जनशक्ति र स्वास्थ्य सामग्री परिचालन गर्ने जनाएको छ ।
