भोटेकोशी बाढी : उद्धार र राहतमा सक्रिय हुन उद्योगी–व्यवसायीलाई महासंघको अपिल
महासंघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
काठमाडौँ । तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा सक्रिय हुन उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई अपिल गरेको छ ।
महासंघले बाढीको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भएकाले त्रिशूली नदीसँग जोडिएका सबै तटीय क्षेत्र उच्च जोखिममा रहेको जनाएको छ। पृथ्वी राजमार्गसहित उक्त करिडोरका सडकमा आवागमन रोक्न सरकारले आग्रह गरिसकेको अवस्थामा तटीय तथा प्रभावित क्षेत्रका उद्योगी–व्यवसायी, सर्वसाधारण र यात्रुलाई उच्च सतर्कता अपनाउन महासंघले आग्रह गरेको हो ।
बाढीबाट भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो जनधनको क्षति भएको देखिएको महासंघले जनाएको छ । महासंघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
महासंघले बाढीबाट प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी तीर्थयात्री, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा रहेको जनाएको छ। विपद् व्यवस्थापनका लागि आफ्नोतर्फबाट आवश्यक सहयोग गर्न महासंघ प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारीसाधन, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ । आगामी दिनमा प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका काममा समेत सहयोग गर्ने महासंघले जनाएको छ ।
महासंघले मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा सम्पूर्ण उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा तत्काल सक्रिय हुन आग्रह गरेको छ ।