तिब्बतमा ७ मिटरको ड्याम फुट्ने जोखिम, भोटेकोशी-त्रिशूलीमा थप बाढीको खतरा
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले थप ठूलो बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चिनियाँ पक्षका अनुसार नदी थुनिएको स्थानमा अझै करिब ७ मिटर अग्लो पानीको ड्याम बाँकी रहेकाले जुनसुकै बेला फुट्न सक्ने जोखिम छ ।
काठमाडौं । चीनको तिब्बतस्थित माथिल्लो क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । बुधबार बिहान भोटेकोशी नदीमा आएको अचानक बाढीले बस्ती, बजार तथा पुलहरू बगाउनुका साथै कैयौँ मानिस फसेका छन् ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले थप ठूलो बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चिनियाँ पक्षका अनुसार नदी थुनिएको स्थानमा अझै करिब ७ मिटर अग्लो पानीको ड्याम बाँकी रहेकाले जुनसुकै बेला फुट्न सक्ने जोखिम छ ।
ड्याम फुटेमा भोटेकोशी र त्रिशूली नदीमा अहिलेभन्दा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । उद्धार तथा राहतमा खटिएका टोलीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ । बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन तथा उद्धार कार्य जारी रहेको छ ।
