बाढीले ठूलो क्षति गरेको छ, जतिसक्दो छिटो उद्धार गरौँः मोहन आचार्य

विज्ञापन
ncell

काठमाडौं । रसुवाका सांसद एवं नेपाली काँग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले ठूलो क्षति गरेको बताएका छन् । उनले गतवर्ष आएको बाढीभन्दा यस पटकको बाढी ठूलो र विनाशकारी रहेकोले रसुवा, नुवाकोट र धाँदिङमा ठूलो क्षति गरेको बताएका हुन् ।

बुधबार पत्रकारहरुसँग सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि कुरा गर्दै उनले बाढी प्रभावित क्षेत्रका नागरिकलाई जतिसक्दो छिटो हेलिकप्टरको प्रयोग गरेर उद्धार गर्न सरकारसँग आग्रह गरे । सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि हवाई माध्यम प्रयोग गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

प्रभावित क्षेत्रमा नागरिकहरू त्रसित रहेको र धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेको उनले बताए । उनले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्ने बताए । सांसद आचार्यका अनुसार तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएपछि बाढी आएको हो । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, त्रिशूली बजारलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले क्षतिको विवरण संकलनमा कठिनाइ भएको उनले जानकारी दिए ।