भोटेकोशी बाढी: आठ हेलिकप्टर परिचालन, त्रिशूली अस्पताल तयारी अवस्थामा
विपद् प्राधिकरणको बैठकले उपलब्ध सबै साधन-स्रोत परिचालन गरी बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा केन्द्रित हुने निर्णय गरेको हो ।
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि जोखिममा परेका नागरिकको उद्धार तथा प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्रता दिने निर्णय गरिएको छ ।
विपद् प्राधिकरणको बैठकले उपलब्ध सबै साधन-स्रोत परिचालन गरी बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा केन्द्रित हुने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोत-साधन परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार उद्धारका लागि हालसम्म आठ वटा हेलिकप्टर परिचालन भएको जानकारी प्राप्त भएको छ ।
बाढीबाट घाइते तथा बिरामी भएकाहरूको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको उनले बताए । तत्काल उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि आङदेम्बेले जानकारी दिए ।
उनले सरकारले कुनै हिचकिचाहट नगरी उपलब्ध सम्पूर्ण स्रोत-साधन परिचालन गर्नुपर्नेमा जोड दिएको बताए । बाढीबाट भएको धनजनको क्षतिको यकिन विवरण सार्वजनिक हुन बाँकी रहे पनि अहिलेको प्राथमिकता जोखिममा परेका नागरिकको तत्काल उद्धार र राहत रहेको उनले बताए ।
