समृद्ध नेपाल निर्माणका लागि राज्य र समाजबीचको सहकार्य अनिवार्यः राष्ट्रपति पौडेल
वर्तमान समयमा निराशा र आवेगभन्दा पनि आशा, भरोसा र विश्वासका साथ आर्थिक समृद्धिको गुरुत्तर दायित्व पूरा गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीचको घनिष्ठ सहकार्य आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान २०८१/२०८२’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गरेका हुन् ।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकास गर्नु सबैको साझा कर्तव्य भएको बताए । वर्तमान समयमा निराशा र आवेगभन्दा पनि आशा, भरोसा र विश्वासका साथ आर्थिक समृद्धिको गुरुत्तर दायित्व पूरा गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । जनताले झन्झटरहित रूपमा पाउने छिटोछरितो सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार र विधिको शासन नै राज्यको वास्तविक सफलताको कडी भएको स्पष्ट पारे ।
दिगो विकासका लागि सक्षम संस्था, दक्ष नेतृत्व, उच्च नैतिकता र व्यावसायिक उत्तरदायित्वको संस्कृति अपरिहार्य रहने उनको भनाइ छ । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल जनप्रशासन संघ जस्ता प्राज्ञिक तथा पेशागत संस्थाहरूले नीति निर्माण, प्रशासनिक सुधार र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा आगामी दिनमा अझ प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
