बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताएका छन् ।
काठमाडौँ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सोमबारदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले करिब ४ हजार २३० मिटर उचाइमा फोर–जी टावर स्थापना गरेपछि सेवा सुरु भएको हो ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताएका छन् ।
जनैपूर्णिमाको अवसरमा बडीमालिकामा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएपछि तीर्थयात्री, पर्यटक, स्थानीयवासी तथा उद्धारमा खटिने निकायलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरको सहयोगमा सामग्री ढुवानी गरिएको थियो । करिब एक महिनाको प्रयासपछि टावर जडान गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । यसअघि जुम्लाको सिँजा, डोल्पा र ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा पनि फोर–जी सेवा विस्तार गरिएको छ ।
