एनजीओलाई मात्रै दोष दिन मिल्दैन, लक्षित वर्गको जिम्मेवारी राज्यले लिनुपर्छः सांसद रानामगर
राम्रा काम गर्ने एनजीओलाई नियन्त्रणभन्दा पनि सहकार्य र नियमित अनुगमन आवश्यक रहेको उनको भनाई छ । उनले एनजीओले प्राप्त गर्ने रकमको पारदर्शिता र अनुगमन आवश्यक रहेको बताइन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी छन् । बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले एनजीओ तथा नागरिक समाजले राज्यको जिम्मेवारीसमेत वहन गरिरहेको बताइन् ।
उनले अरुलाई दोष दिनुभन्दा पहिला सरकारले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताइन् । उनले एनजिओ तथा आईएनजिओले सरकारले गर्न नसकेका कामहरु गरिरहेको दाबी गरिन् । राम्रा काम गर्ने एनजीओलाई नियन्त्रणभन्दा पनि सहकार्य र नियमित अनुगमन आवश्यक रहेको उनको भनाई छ । उनले एनजीओले प्राप्त गर्ने रकमको पारदर्शिता र अनुगमन आवश्यक रहेको बताइन् ।
उनले समाज कल्याण मन्त्रालयको सम्पत्ति तथा स्रोतको प्रभावकारी उपयोग हुन नसकेको बताइन् । उनले कर्णालीलगायत दुर्गम क्षेत्रमा जाने सरकारी तथा अन्य स्रोतको रकमको प्रभावकारी अनुगमन गर्नुपर्ने उल्लेख गरिन् ।
