काठमाडौंमा नेपाल-भारतका नेता तथा व्यवसायीबीच छलफल हुँदै

विज्ञापन
ncell

भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले सुरु गर्न लागेको विश्वव्यापी संवाद शृङ्खलाअन्तर्गत काठमाडौंमा आगामी भदौ ११ गते कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम काठमाडौंस्थित याक एण्ड यति होटलमा हुनेछ ।

काठमाडौं । नेपाल र भारतका राजनीति, अर्थतन्त्र, कूटनीति, उद्योग-व्यवसाय, कला तथा खेल क्षेत्रका प्रभावशाली व्यक्तित्वहरू एउटै मञ्चमा सहभागी भएर समसामयिक विषयमा संवाद गर्ने भएका छन् ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले सुरु गर्न लागेको विश्वव्यापी संवाद शृङ्खलाअन्तर्गत काठमाडौंमा आगामी भदौ ११ गते कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम काठमाडौंस्थित याक एण्ड यति होटलमा हुनेछ ।

संवादमा नेपालतर्फबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदास तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने बताइएको छ ।

त्यस्तै, कला क्षेत्रबाट अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाले सहभागिता जनाउनेछन् । व्यापार तथा उद्योग क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष एवं सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल सहभागी हुनेछन् ।

खेल क्षेत्रबाट नेपालका पूर्वक्रिकेटर तथा नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्काले नेपाली खेल क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भारतका तर्फबाट इन्डिया फाउन्डेसनका अध्यक्ष डा.राम माधव, भाजपाका राष्ट्रिय कार्यकारिणी सदस्य डा। विनय सहस्रबुद्धे, भाजपाको विदेश मामिला विभागका प्रमुख डा। विजय चौथाइवाले, पूर्वकेन्द्रीय मन्त्री तथा कांग्रेस नेता शशि थरुर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत सहभागी हुने बताइएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध, राजनीति, अर्थतन्त्र, कूटनीति, व्यापार, संस्कृति तथा खेलकुदलगायतका विविध विषयमा केन्द्रित हुने संवादले दुई देशबीचको सम्बन्धलाई थप बहुआयामिक रूपमा छलफल गर्ने अपेक्षा गरिएको छ ।