जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई

विज्ञापन
ncell

संसद बैठक ढिलो सुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गरे ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार जनसरोकारका आधारभुत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाएका छन्।  बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे ।

संसद बैठक ढिलो सुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गरे । उनले जिम्मेवार निकायलाई जवाफदेही बनाउन आफूले सामाजिक सञ्जालमार्फत नैतिक दबाब दिँदै आएको स्पष्ट पारे । नियमअनुसार दुई घण्टाभन्दा बढी ढिलो भए बैठक स्थगित हुने प्रावधान भएपनि यस्ता प्राविधिक ढिलासुस्तीले संसदीय गरिमामा असर पुग्ने उनको तर्क छ । 

आम नागरिकले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानी जस्ता आधारभुत आवश्यकताका लागि भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गरे । मल खरिदका लागि किसानले जग्गाको लालपुर्जा देखाउनुपर्ने प्रावधान अनावश्यक र झन्झटिलो भएको बताए । वास्तविक किसानले अरूको खेत कमाएको हुनसक्ने र जग्गाधनी बाहिर भएको अवस्थामा मल नपाउनु न्यायोचित नभएको उनको तर्क छ ।

यस्तै, गृहमन्त्रीले आफ्नो छानबिन प्रतिवेदन पत्रकारहरूलाई नै खोज्न आग्रह गरेको प्रसङ्गमा राईले त्यसलाई केटाकेटीपनको संज्ञा दिँदै जिम्मेवार व्यक्तिले त्यसो भन्न नहुने बताए ।  उनले सबै दलका समर्थकहरूलाई संयमित रहन र गालीगलौजमा नउत्रन आग्रह समेत गरे ।