एक-दुई सांसदको अभिव्यक्ति पार्टीको धारणा होइन: रवि लामिछाने
उनकाअनुसार सरकार, मन्त्रालय तथा मन्त्रीहरूका विषयमा पार्टीभित्र कुनै असन्तुष्टि भए त्यसबारे पनि छलफल गर्ने उद्देश्यले सांसदहरूसँग अन्तरक्रिया गरिएको बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको भएकोले सांसदहरुले मर्यादा कायम राख्नुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सांसदहरु मर्यादित हुनुपर्ने बताएका हुन् ।
उनले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा बोल्ने क्रममा एक-दुई जनाबाट विवादित अभिव्यक्ति आउन सक्ने बताए । यसलाई समग्र पार्टीको धारणा भनेर बुझ्न नहुने उनको भनाई छ । उनले पछिल्लो समय संसदमा पार्टीका सांसदहरूको प्रस्तुति, उठाइने विषय र सरकारका कामकारबाहीबारे आएका प्रश्नमाथि बुधबार सांसदहरुसंग आन्तरिक छलफल गरेको जानकारी दिए ।
उनकाअनुसार सरकार, मन्त्रालय तथा मन्त्रीहरूका विषयमा पार्टीभित्र कुनै असन्तुष्टि भए त्यसबारे पनि छलफल गर्ने उद्देश्यले सांसदहरूसँग अन्तरक्रिया गरिएको बताए । उनले सांसदहरुलाई मर्यादित ढंगले जनसवालका प्रश्नहरु उठाउन अभिमुखिकरण लगायतका कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा रास्वपाका संसदीय दलका नेता बालेन्द्र साह भने उपस्थित थिएनन् । सभापति लामीछानेले सांसदहरुसँग भएको छलफल संसदीय दलको औपचारिक बैठक नभएकोले संसदीय दलका नेता सहभागी नभएको बताए । दलको औपचारिक बैठकमा संसदीय दलका नेता सहभागी हुनेमा कुनै दुविधा नरहेको उनको भनाई छ । संसद तथा संसदीय समितिमा रास्वपाका सांसदहरुले दिने अभिव्यक्ति विवादमा पर्न थालेपछि सभापति लामिछानेले बुधबार संसदसंग अन्र्तक्रिया गरेका हुन् ।
