अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह
उद्योगी व्यवसायीले भने अहिलेको समस्या आपूर्ति अभावका कारण नभई विगतमा आधा भरिएका सिलिण्डर बिक्री गरिएकाले त्यसको असर देखिएको बताएका छन् ।
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । निगमका अनुसार पछिल्लो समय काठमाडौँ उपत्यकामा दैनिक मागभन्दा बढी सिलिण्डर आपूर्ति भइरहेको छ ।
उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिण्डरको माग रहे पनि अहिले ५ देखि ८ हजारसम्म बढी आपूर्ति भइरहेको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए। भदौ २ गते मात्रै २२ ग्यास उद्योगबाट ४७ हजार ३८८ सिलिण्डर बिक्री हुँदैछन् भने भदौ १ गते ५२ हजार ५७६ सिलिण्डर बिक्री भएका थिए । पछिल्लो एक सातामा मात्रै उपत्यकामा ३ लाख ९ हजार ५५३ सिलिण्डर बिक्री भएको निगमले जनाएको छ ।
उद्योगी व्यवसायीले भने अहिलेको समस्या आपूर्ति अभावका कारण नभई विगतमा आधा भरिएका सिलिण्डर बिक्री गरिएकाले त्यसको असर देखिएको बताएका छन् । एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार डिलरमार्फत बिक्री सुरु भएपछि अवस्था सहज भएको छ र अबको एक साताभित्र ग्यासको समस्या पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ । यसैबीच, चालु आर्थिक वर्षको साउनमा देशभर ४० लाख ३६ हजारभन्दा बढी सिलिण्डर बिक्री भएको निगमले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा करिब २९ प्रतिशत बढी हो ।
