पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
सर्वोच्चको आदेशमा श्रेष्ठले समाचारमा प्रयोग गरेको तस्विर जाहेरवाला स्वयंले सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको उल्लेख छ ।
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।
जनआस्था अनलाइनमा प्रकाशित एक समाचार तथा तस्विरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले गत साउन २७ गते श्रेष्ठलाई पक्राउ गरेको थियो ।
सर्वोच्चको आदेशमा श्रेष्ठले समाचारमा प्रयोग गरेको तस्विर जाहेरवाला स्वयंले सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको उल्लेख छ । उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको भन्दै अदालतले श्रेष्ठलाई हिरासतमा राखिरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो । अदालतको आदेशसँगै श्रेष्ठलाई हिरासतबाट रिहा गर्ने बाटो खुलेको छ ।
