विद्यमान कानूनलाई समयसापेक्ष परिमार्जन गर्न सरकार प्रतिवद्धः मन्त्री गौतम

विज्ञापन
ncell

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकका विद्यमान कानून तथा संहिताहरूलाई समयसापेक्ष बनाउन संशोधनको प्रक्रिया अघि बढाइने बताएकी छन् । सोमबार मुलुकी संहिता दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजको आवश्यकता र परिवर्तनलाई आत्मसात गर्न कानून लचिलो र गतिशील हुनुपर्नेमा जोड दिएकी हुन् ।

मन्त्रालयले कानून परिमार्जनका लागि जनस्तरबाट सुझाव संकलन गरिरहेको जानकारी दिँदै मन्त्री गौतमले हालसम्म ५ सयभन्दा बढी सुझाव प्राप्त भएको बताइन् ।

कानून निर्माण र सुधारको प्रक्रियालाई समावेशी बनाउन मन्त्रालयले सर्वसाधारणका साथै कर्मचारी र सरोकारवाला निकायका लागि पनि सुझाव दिने व्यवस्था खुला गरेको उनले बताइन् ।

कार्यसम्पादनका क्रममा प्रहरी, सरकारी वकिल र कर्मचारीहरूले भोग्नुपरेका व्यावहारिक जटिलताहरूलाई सम्बोधन गर्न उनीहरूको अनुभव र सुझावलाई प्राथमिकता दिइने उनको भनाइ छ । मन्त्री गौतमले कानून व्यवहारिक नभए समाजले त्यसलाई स्वीकार गर्न कठिन हुने उल्लेख गरिन् । 

आगामी दिनमा संहिताहरूलाई थप परिष्कृत र समयसापेक्ष बनाउन संशोधनको आवश्यकता रहेको समेत उनले प्रस्ट पारिन् । समाज निर्माण गर्ने कार्य राजनीतिज्ञको मात्र नभई सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले कानून निर्माणमा सबै पक्षको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिइन् ।