‘म हिन्दु हुँ भन्न पाउनु मेरो अधिकार हो’ देशको धार्मिक स्वरुप कस्तो हुने जनताको हातमा छः देउवा

विज्ञापन
ncell

उनले सबै धर्मको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै आफ्नो व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिए ।

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भएको र आफ्नो धार्मिक पहिचान व्यक्त गर्न पाउनु अधिकार भएको बताएका छन् । उनले आफू अन्य कुनै पनि धर्म वा समुदायको विरोधी नभएको समेत स्पष्ट पारे ।

आईतबार काठमाडौंमा सम्पन्न काँग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू हिन्दु भएपनि कुनै धर्म विरोधी नभएको बताए । सबैले आफ्नो धर्मको पहिचान खुलाउन पाउने बताए । आफू हिन्दु धर्ममा पूर्ण विश्वास राख्ने बताउँदै देउवाले आफ्नो धार्मिक आस्थाका बारेमा पहिले पनि पटक-पटक स्पष्ट पारिसकेको उल्लेख गरे । उनले सबै धर्मको अस्तित्व र सम्मानलाई स्वीकार गर्दै आफ्नो व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिए ।

आफ्नो धार्मिक आस्थाका बारेमा थप प्रस्ट पार्दै देउवाले आफूले गुहेश्वरीमा हिन्दु ऋतिरिवाजअनुसार नै विवाह गरेको स्मरण गरे । आफू पशुपतिनाथको भक्त भएको र त्यहाँ पूजा गर्ने इच्छा सधैँ रहने बताए । देशको धार्मिक स्वरूप कस्तो हुने भन्ने निर्णय नेपाली जनताको हातमा रहेको उल्लेख गर्दै उनले धार्मिक स्वतन्त्रता अपरिहार्य रहेको बताए । सो क्रममा उनले बुद्ध धर्मलाई वैज्ञानिक धर्मको रूपमा व्याख्या गर्दै यसप्रति आफ्नो उच्च श्रद्धा रहेको बताए । उनले सर्वोच्च अदालतमा पार्टीमाथिको विचाराधीन मुद्दाको प्रसङ्ग उल्लेख गर्दै अदालतको निर्णयलाई सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे ।