एनआईसी एशिया बैंकको नाफामा चमत्कार, तर लाभांस क्षमता शून्य
अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख नोक्सानीमा रहेको बैंक गतले वर्ष गर्यो १८ करोड नाफा
घिल्लो वर्ष ९ अर्ब ७१ करोड ३८ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत वर्ष २ अर्ब ९१ करोड ७६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । इम्पेयरमेन्ट चार्ज उल्लेख्य घटेकाले खुद ब्याज आम्दानी घट्दा पनि बैंक नाफामा जान सफल भएको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०८२र८३ मा १८ करोड १७ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले एक वर्षको अवधिमा नाफामा चमत्कारै गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा बैंक ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ नोक्सानीमा थियो ।
२०८३ असारको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै इम्पेयरमेन्ट चार्ज उल्लेख्य घटेका कारण नोक्सानीमा रहेको बैंकलाई नाफामा लैजान ठूलो सहयोग गरेको जनाएको छ । अघिल्लो वर्ष ९ अर्ब ७१ करोड ३८ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत वर्ष २ अर्ब ९१ करोड ७६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष १० अर्ब १३ करोड ५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । इम्पेयरमेन्ट चार्ज उल्लेख्य घटेकाले खुद ब्याज आम्दानी घट्दा पनि बैंक नाफामा जान सफल भएको हो । यस्तै बैंकको खुद फि तथा कमिशनबाट हुने आम्दानी १ अर्ब २१ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्षको ४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ ऋणात्मकबाट सुधार भएको ९७ करोड ९१ लाख ८ हजार रुपैयाँ छ । यद्यपी बैंकको वितरणयोग्य नाफा भने अझै १४ अर्ब ८६ करोड ५० लाख २३ हजार रुपैयाँ ऋणात्मक छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रुपैयाँ छ ।
गत बर्षसम्म ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको एनआईसी एसियाले १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी १.२२ रुपैयाँ रहेको बैंकको छ भने प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ छ । बैंकको निष्कृय कर्जा ८.७४ प्रतिशतबाट बढेर ९.२६ प्रतिशत पुगेको छ ।
