राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटकीय गन्तव्यको लक्ष्य पूरा हुँदैनः मन्त्री पौडेल
राष्ट्रिय ध्वजावाहक निगम हाल चरम ऋण, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको बेथितिमा फसेको उल्लेख गर्दै उनले यसको पुनर्संरचना अपरिहार्य भएको बताए ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने बताएका छन् ।
नेपालका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रिय ध्वजावाहक निगम हाल चरम ऋण, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको बेथितिमा फसेको उल्लेख गर्दै उनले यसको पुनर्संरचना अपरिहार्य भएको बताए । निगमको सुधारका लागि आफू अध्ययनकै क्रममा रहेको जानकारी दिँदै उनले यसलाई उद्धार गर्न पीपीपी मोडलमा लैजानुपर्नेमा आफ्नो दृढता रहेको स्पष्ट पारे ।
यस प्रक्रियामा सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा गर्दै उनले सार्वजनिक क्षेत्रमा यस विषयमा वैचारिक बहस सिर्जना गर्न समेत अपिल गरे । मन्त्री पौडेलले भने, ‘राष्ट्रिय ध्वजावाहकप्रति हामी सबैको गर्व छ तर हाल यो ऋणमा चुर्लुम्म डुबेको र विभिन्न बेथितिमा फसेको अवस्था छ । यसलाई राजनीतिक र कर्मचारीतन्त्रको दलदलबाट बाहिर निकालेर बचाउन आमूल पुनर्संरचना आवश्यक छ । राष्ट्रिय ध्वजावाहकको सुधारबिना पर्यटकीय गन्तव्यको लक्ष्य पूरा गरेका कुनैपनि देश मैले देखेको छैन । त्यसैले नेपालको पर्यटन प्रवद्र्धनका लागि निगमको सुधार हुनैपर्छ ।’मन्त्री पौडेलले पर्यटन क्षेत्रको विकासका लागि बलियो राष्ट्रिय ध्वजावाहक हुनुपर्ने बताए ।
