किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघको धर्ना
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ।
महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भएको प्रदर्शनमा कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागी पत्रकारहरुले ‘किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ र ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ लेखिएका प्लेकार्ड बोकेका छन्।
जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐनविपरीतको कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो। आज बिहान जनआस्थाको कार्यालयमा समेत प्रहरीले खानतलासी गरेको छ।
महासंघले श्रेष्ठलाई तत्काल रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। श्रेष्ठ पूर्व प्रेस काउन्सिल अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिवसमेत हुन्।
