पत्रकार किशोर श्रेष्ठ पक्राउ: जनआस्थाको कार्यालयमा प्रहरीको छापा

विज्ञापन
ncell

बिहीबार बिहान प्रहरीको टोली कार्यालय पुगेर छापा मारेको र कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर गएको त्यहाँ कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् ।

काठमाडौँ । जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको छ । पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरीको टोली कार्यालय पुगेर छापा मारेको र कार्यालयबाट कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएर गएको त्यहाँ कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् ।

यसअघि प्रहरीले बुधबार साँझ पत्रकार श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली श्रेष्ठलाई वैक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर-३ का सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री र तस्बिर प्रकाशन भएको थियो । सोही विषयलाई लिएर दीपिका सिंहले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरिएको थियो।

यसैबीच, पत्रकार श्रेष्ठको पक्राउ र सञ्चार गृहमा गरिएको खानतलासीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको विनासर्त रिहाइको माग गरेको छ ।