युवा परिषद् ऐन पुनरावलोकन गर्दै सरकार
काठमाडौं । युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले युवाको बदलिँदो अपेक्षा, श्रम बजार र प्रविधिअनुसार राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी र युवासम्बन्धी विषयमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्न नयाँ ऐन ल्याउन लागिएको जानकारी दिए ।
उनले राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानून आयोगले तयार गरी मन्त्रालयमा पठाइसकेको समेत जानकारी दिए । उनले युवाको क्षेत्रमा विकास भएका नयाँ आयाम र अन्तर्राष्ट्रिय परिवेशलाई राष्ट्र निर्माणमा परिचालन गर्ने उद्देश्यले युवा नीति, २०८२ जारी गरिएको समेत बताए ।
उक्त नीति आगामी दशकमा युवालाई बदलिँदो विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र भएको मन्त्री यादवको भनाइ छ । सरकारले युवालाई नेतृत्व सीप र रोजगारीसँग जोड्न चालु आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरेको पनि मन्त्री यादवले बताए ।
