सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैनः ट्राफिक प्रहरी
सडक अनुशासन उल्लंघनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसंग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अतिआवश्यक रहेको बताए ।
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्युनिकरण गर्न नसकिने बताएका छन् ।
आईतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिए । सडक अनुशासन उल्लंघनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसंग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अतिआवश्यक रहेको बताए ।
मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण रहेको उनको भनाई छ । सडक नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्तासमेत जोखिममा पर्ने गरेको उनले बताए । उनले ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा क्षेत्रका ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने बताए । सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाई छ । उनले नेपालमा हालसम्म ट्राफिक नियमसम्बन्धी शिक्षा नेपालको कुनै विद्यालय तथा विश्वविधालयमा पढाई नहुने गुनासो गरे ।
उनकाअनुसार ट्राफिक प्रहरीले पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामाजिक सञ्जालमार्फत हरेक साता करिव २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पुर्याउने र प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई सचेतना कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको उनले बताए । ट्राफिक नियम उल्लंघनपछि सञ्चालन हुने सचेतना कक्षाले पनि प्रभावकारी परिणाम दिएको उनको दाबी छ । कक्षामा सहभागी अधिकांशले ट्राफिक नियमसम्बन्धी शिक्षा चालक अनुमतिपत्र लिने समयमै पाएमा अझ प्रभावकारी हुने उनको भनाई छ ।
उनले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्युनिकरण गर्नु रहेको स्पष्ट पारे । उनले ट्राफिक प्रहरीलाई कारबाही गर्दा नागरिकसँग रुखो व्यवहार नगर्न निर्देशनसमेत दिए । ट्राफिक प्रहरीले कानुन कार्यान्वयन गराउँदा नम्र भाषा प्रयोग गर्नुपर्ने, नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने र कारबाही प्रक्रिया पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ ।
उनले ट्राफिक प्रहरीमाथि आउने आलोचनाको प्रमुख कारण कामभन्दा पनि काम गर्ने शैली र व्यवहार भएको बताए । यसलाई सुधार गर्न उनले निर्देशन दिए । उनले सडक दुर्घटनामा कमी आएपनि हालको अवस्था सन्तोषजनक नरहेको बताए । उनकाअनुसार नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिव ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको छ । गत वर्षको तुलनामा सडक दुर्घटनामा करिव २० प्रतिशत कमी आएको भएपनि त्यसलाई पर्याप्त मान्न नसकिने उनको भनाई छ । आगामी वर्ष दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गर्नुपर्ने उनले बताए ।
