ग्यास सिलिन्डर ७ हजारमा बेच्ने किराना पसल सञ्चालक पक्राउ
काठमाडौं । खाना पकाउने एलपी ग्यास तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने एक किराना पसल सञ्चालक पक्राउ परेका छन् ।
ग्यासको कालोबजारी भइरहेको सूचनाका आधारमा प्रहरीले पसल सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई पक्राउ गरेको हो । सूचनाका आधारमा प्रहरीले चाँगुनारायण नगरपालिका-२, दुवाकोट बारुदखाना चोकस्थित किराना पसलमा चेकजाँच तथा अनुगमन गरेको थियो ।
प्रहरीका अनुसार पसल सञ्चालक त्वयनाले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री वितरण गरेको पाइएको थियो । प्रहरीले पसलबाट ३ थान ग्यास सिलिन्डर समेत बरामद गरेको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।