खाना पकाउने एलपी ग्यास नियमित माग धान्नसक्ने परिमाणमा आयात तथा वितरण भइरहेको सरकारको दाबी

विज्ञापन
ncell

उनले नेपाल आयल निगम क्विक रिस्पोन्स टिम गठन गरि ग्यास नपाएको गुनासोको तत्काल सम्बोधन गर्नेगरी व्यवस्थापन गरिएको समेत जानकारी दिइन् ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नियमित माग धान्नसक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गरेकी छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले यस्तो दाबी गरेकी हुन् । बजारमा सहज उपलब्धता भइरहेकोमा साउनदेखि पूर्ण सिलिन्डर वितरण सुरु भएपछि एलपी ग्यासको माग एकाएक बढ्दा बजारमा केही असहजता सिर्जना भएको उनको भनाइ छ । उनले एलपी ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम गरिरहेको बताइन् । उनले बढ्दो मागलाई सम्बोधन गर्न नेपाल आयल निगम र मन्त्रालयले कुटनीतिक पहललाई निरन्तरता दिएको पनि बताइन् । उनले कालोबजारी नियन्त्रण गर्न तथा कृत्रिम अभाव हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्र बनाएको पनि उल्लेख गरिन् । मन्त्री कुमारीका अनुसार हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १ सय ६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिव १ करोड ७५ लाख ग्यास सिलिन्डर रहेको छ । उनले बजारमा बढ्दो माग धान्नको लागि आयात बढाउन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पठाइएको पनि बताइन् । उनले नेपाल आयल निगम क्विक रिस्पोन्स टिम गठन गरि ग्यास नपाएको गुनासोको तत्काल सम्बोधन गर्नेगरी व्यवस्थापन गरिएको समेत जानकारी दिइन् ।