प्रधानमन्त्रीको सीमा टिप्पणी हटाउन रुलिङको माग, नहटेसम्म संसद अवरोधको चेतावनी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राखिरामख्न मिल्ने भन्दै सच्याउन वा हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले साहले दिएको ‘नेपाललले पनि भारतको भूमि मिचेको छ’ अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका हुन् ।
उनले उक्त अभिव्यक्ति संसदबाट नहटेसम्म विपक्षी दलहरुको अवरोध कायमै रहने चेतावनी पनि दिए । उनले राष्ट्रियता र नेपालको भू-भागसँग सम्बन्धित विषय भएकाले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति हटाउन नभए सच्याउनको लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए । दुलालले आवश्यक पर्दा राष्ट्रका लागि रगत बगाउन आफूहरु तयार रहेको तर राष्ट्रहित विरोधी अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राख्न नसकिने बताए । गत जेठ १७ मा प्रधानमन्त्री साहले भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति हटाउनुपर्ने मागसहित विपक्षीहरुले संसदमा विरोध गर्दै आएका छन् ।
