सरकार र रवीन्द्र मेहताका परिवारबीच सहमति, शव बुझ्न आफन्त तयार

विज्ञापन
ncell

सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

काठमाडौँ । सरकार र सुनसरी घटनामा निधन भएका रवीन्द्र मेहताका आफन्तबीच सहमति भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलमा सहमति भएसंगै उनिहरु मेहताको शव बुझ्न तयार भएका हुन् ।

सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताएका छन् । उनीहरूले अहिले मेहताको शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएका हुन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।