इन्ड्राइभविरुद्ध राइडर-चालकको आन्दोलन, एक सातासम्म एप अनइन्स्टल गर्ने घोषणा

विज्ञापन
ncell

डिजिटल राइड-सेरिङसम्बन्धी नीतिगत सुधार गर्न, चालक तथा राइडरहरूको उचित पारिश्रमिक सुनिश्चित गर्न र श्रम शोषण बन्द गराउन दबाब दिने उद्देश्यले यो आन्दोलन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौँ । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइडर तथा चालकहरूले आजदेखि शान्तिपूर्ण विरोध कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइडर तथा चालकहरूको उचित हकहित, संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरू सुरु गरेका हुन् ।

डिजिटल राइड-सेरिङसम्बन्धी नीतिगत सुधार गर्न, चालक तथा राइडरहरूको उचित पारिश्रमिक सुनिश्चित गर्न र श्रम शोषण बन्द गराउन दबाब दिने उद्देश्यले यो आन्दोलन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो चरणमा एक हप्तासम्म इन्ड्राइभ एप अनइस्टल गर्ने निर्णय गरिएको छ । साथै, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने, श्रम शोषण तत्काल बन्द गरिनुपर्ने र ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ अफिस घेराउ गर्ने लगायतका कार्यक्रम तय भएका छन् ।

फाउन्डेसनले यसअघि नै साउन २०, २१ र २२ गतेसम्म बिहान ११ बजेदेखि शान्तिपूर्ण धर्ना, प्लेकार्ड प्रदर्शन तथा जनचेतनामूलक विरोध कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा समेत अनुमति माग गर्दै निवेदन पेस गरेको जनाएको छ ।

आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउँदै संविधान, प्रचलित कानुन तथा स्थानीय प्रशासनका निर्देशनहरूको पूर्ण पालना गरिने आयोजकले जनाएका छन् ।

विरोधका क्रममा कुनै पनि प्रकारको हिंसा, तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति र यातायात अवरोध जस्ता कार्य नगरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।