ग्लोबल आइएमई बैंकको नाफा २२.६७% बढेर ६ अर्ब २२ करोड, कस्ता छन् अन्य सूचक ?

विज्ञापन
ncell

बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा ६ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । एक वर्षको अवधिमा बैंकको नाफा २२.६७ प्रतिशतले बढेको हो ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकको खुद नाफा, वितरणयोग्य मुनाफा र शुल्क तथा कमिसन आम्दानीमा सुधार गरेको छ भने कर्जा विस्तार, ब्याज आम्दानी र निष्क्रिय कर्जा व्यवस्थापनमा भने चुनौती कायम रहेको देखिएको छ ।  बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा ६ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा २२.६७ प्रतिशतले बढेको हो ।

बैंकको नाफा वृद्धिमा मुख्य योगदान कर्जा नोक्सानी व्यवस्था घट्नु र गैरब्याज आम्दानी बढ्नुले दिएको देखिन्छ । बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ। कर्जा नोक्सानी व्यवस्थामा आएको कमीले बैंकको सञ्चालन नतिजामा सकारात्मक प्रभाव पारेको हो । तर बैंकको मुख्य आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ६८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर १६ अर्ब २० करोड रुपैयाँ मा आएको छ। ब्याजदर घट्दै जानु, कर्जाको माग अपेक्षित रूपमा विस्तार हुन नसक्नु तथा बैंकिङ प्रणालीमा रहेको अधिक तरलताले ब्याज आम्दानीमा दबाब सिर्जना गरेको बैंकको विश्लेषण छ ।

बैंकले शुल्क तथा कमिसन आम्दानीमा भने सुधार गरेको छ। खुद शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्षको ३ अर्ब २२ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। परम्परागत ब्याज आम्दानीमा दबाब रहेका बेला गैरब्याज आम्दानी बढाउने बैंकहरूको रणनीतिअनुसार ग्लोबल आइएमईले पनि सेवा विस्तार र डिजिटल माध्यमबाट आम्दानी बढाउने प्रयास गरेको देखिन्छ । बैंकको कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँबाट बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चिति रहेको छ ।  बैंकको वितरणयोग्य नाफा पनि सुधार भएको छ । बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ५ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यससँगै बैंकको लाभांश क्षमता १०.६४ प्रतिशतबाट बढेर १२।०२ प्रतिशत पुगेको छ। यसले आगामी दिनमा शेयरधनीलाई दिने प्रतिफल क्षमतामा सुधार आएको संकेत गरेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ३४ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १५३ रुपैयाँ ३६ पैसा, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.६७ गुणा र तरलता अनुपात ४४.४८ प्रतिशत रहेको छ ।