सुकुम्बासी व्यवस्थापनमा स्थानीय तहको सहयोग आवश्यक: मन्त्री रावल

विज्ञापन
ncell

काठमाडौं ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले केही स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा ढिलाई भइरहेको भन्दै विपक्षी दलहरुको सहयोग खोजेकी छन् ।  प्रतिनिधि सभाको मंगलबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि सहयोग गर्न विपक्षी दलहरुलाई आग्रह गरेकी हुन् ।

उनले काठमाडौं उपत्यकाका ३ सय ८८ सुकुम्बासी परिवारको लगत संकलन गरी होल्डिङ सेन्टरमा राखिएको राखिएको जानकारी दिइन् । तीमध्ये ५८ परिवारको निवेदन सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको भएपनि चार वटा पालिकाले मात्र सूचना प्रकाशन गरेको मन्त्री रावलले बताइन् ।

उनले होल्डिङ सेन्टरमा रहेकामध्ये ५१ परिवारको जग्गा भेटिएकाले निवेदन अस्वीकृत गरिएको तथा अन्य ५१ परिवारको विवरण पहिले नै आयोगमा दर्ता भएकाले सूचना प्रकाशनको तयारी गरिएको जानकारी दिइन् । उनले विपक्षी दलसमेत भूमिहीन सुकुम्बासीलाई शीघ्र लालपुर्जा उपलब्ध गराउने पक्षमा रहेको उल्लेख गर्दै प्रतिनिधि सभामा छलफल भएको सार्वजनिक महत्वको प्रस्तावको प्रतिलिपि सबै स्थानीय तहमा पठाउन प्रस्ताव गरिन् ।

उनले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि प्रदेश र स्थानीय तहमार्फत सहयोग गर्न समेत सबै विपक्षी दलहरुलाई आग्रह गरिन् ।