हिमपहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी कार्य शुक्रबार रातभरका लागि स्थगित

विज्ञापन
ncell

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्य आज रातभरका लागि स्थगित गरिएको छ।

बिहीबार हिउँपहिरोमा परी विश्वप्रसिद्ध नेपाली आरोही निम्स दाई (निर्मल पुर्जा) सहित १० जनाको टोली सम्पर्कविहीन भएको थियो।

हराएकामध्ये ४ जनाको शव शुक्रबार भेटिएको छ। बाँकी टिमको खोजी कार्य जारी रहे पनि साँझसम्म कसैलाई भेटिएको छैन। रात परेसँगै खराब मौसमका कारण उद्धार तथा खोजी कार्य स्थगित गरिएको पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार बिहीबार मध्याह्नतिर दोस्रो र तेस्रो क्याम्पको बीचमा (करिब ७,००० मिटरको उचाइमा) शक्तिशाली हिमपहिरो खसेको थियो।

हिमपहिरोले शिखर चुम्ने लक्ष्यका साथ अघि बढेको आरोही टोलीलाई करिब १,००० मिटर तलसम्म बगाएको जिपिएस ट्र्याकरको विवरणले देखाएको छ ।

बिहीबार ब्रोड पिकमा आएको हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक चिनियाँ र एक अमेरिकी गरी १० जना आरोही बेपत्ता भएका थिए। हालसम्म चार जनाको शव फेला परेको पुष्टि भइसकेको छ।