पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले

आईतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अव ती वस्तुहरुको मूल्य पनि घटने बताएका हुन् ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् । 

आईतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अव ती वस्तुहरुको मूल्य पनि घटने बताएका हुन् । अर्थमन्त्री वाग्लेले अन्तराष्ट्रिय बजारमा उक्त बस्तुको मल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकि रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे । केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अब घटनेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाई थियो । 

उनले भने ,‘मध्यपूर्वमा जुन समस्या देखियो । यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभाक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ता भित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महशुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ । र अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो । अव टाईम ल्याक त हुन्छ । क्रुड प्राईस त घटि नै सक्यो । तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीेले जुन आयात गर्ने गरेका छौँ । त्यो एकजेष्ट भएर नेपालमा आउन केही समय लाग्ला । तर मूल्य अव घटनेवाला छ ।’

अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दावी समेत गरे ।