भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठुलो धनजनको क्षतिको आशंका
पहिलो भूकम्प ७.२ र त्यसको केही सेकेन्डपछि ७.५ तीव्रताको अर्को भूकम्प गएको थियो । दु
काठमाडौँ । भेनेजुएलामा दुई शक्तिशाली भूकम्प आएपछि ठुलो धनजनको क्षति भएको अनुमान गरिएको छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार यस भूकम्पबाट १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत तथा एक लाखभन्दा बढीको मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
पहिलो भूकम्प ७.२ र त्यसको केही सेकेन्डपछि ७.५ तीव्रताको अर्को भूकम्प गएको थियो । दुवै भूकम्प राजधानी काराकासबाट करिब २९० किलोमिटर पश्चिम क्षेत्रमा केन्द्रित भएका थिए । भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न सहरका भवनहरूमा भत्किएका छन् भने कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय आपत्काल घोषणा गरेकी छन् । यद्यपि हालसम्म सरकारले मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुलो क्षति भएको आशंका गर्दै हरसम्भव सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार काराकास अन्तर्राष्ट्रिय विमानस्थलको छानाको एक भाग भत्किएको छ । त्यसपछि ठूलो मात्रामा धुलो उडेको देखिएको थियो ।
यो भूकम्प पछिल्लो १२६ वर्षयताकै सबैभन्दा शक्तिशाली मानिएको छ । यसअघि सन् १९०० मा ७.७ तीव्रताको भूकम्प गएको थियो ।