विराटनगर महानगरको ३ अर्ब ५६ करोडको बजेट: पूर्वाधार विकासलाई मुख्य प्राथमिकता

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको कुल आम्दानीमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

काठमाडौँ । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३र/८४ का लागि बुधबार ३ अर्ब ५६ करोड ४७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार १८ औँ नगर सभामा अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षका लागि गत वर्ष ४ अर्ब ४० करोडको अनुमानित बजेट सार्वजनिक गरेको थियो । महानगरले पछि त्यसलाई संशोधन गरेर ३ अर्ब ६८ करोड २८ लाखमा सीमित गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको कुल आम्दानीमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकारको समानीकरण अनुदानबाट ३ करोड ६२ लाख ५० हजार, सशर्त चालु अनुदानबाट ४ करोड १ लाख २४ हजार र सशर्त पुँजीगततर्फ ६ करोड ६३ लाख रुपैयाँ आय हुने महानगरको अनुमान छ । यसैगरी आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ५६ लाख १८ हजार रुपैयाँ, बैंक मौज्दातबाट १४ करोड र विभिन्न संघसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

महानगरले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । यसका लागि १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, नगरस्तरीय योजनाका लागि ६० करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख ३२ हजार र बहुवर्षीय गौरवका आयोजनाका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ । मर्मत-सम्भारमा १० करोड र फोहोरपानी प्रशोधनमा २ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये शिक्षातर्फ १० करोड ९ लाख २८ हजार र स्वास्थ्यतर्फ ७ करोड ३ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ ।