होल्डिङ सेन्टर ५ दिनभित्र खाली गर्न बागमती सभ्यता समितिको निर्देशन
प्रत्येक परिवारलाई स्वस् व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिएर खाली गर्न भनिएको छ ।
काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई ५ दिनभित्र भवन खाली गर्न सूचना टाँसेको छ । सोमबारदेखि आगामी शुक्रबारसम्ममा स्व-व्यवस्थापन गरी होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले ताकेता गरेको हो ।
हाल कीर्तिपुरको सेन्टरमा ६८ परिवारका २०३ जना बसिरहेका छन् । प्रत्येक परिवारलाई स्वस् व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिएर खाली गर्न भनिएको छ । उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा स्व: व्यवस्थापनका लागि पैसा हालिदिइन्छ। समितिले सुरुमा कीर्तिपुरबाट यो प्रक्रिया थालनी गरेको छ । सूचना अटेर गरी हट्न नमान्नेहरूको हकमा सरकारले अन्य विकल्प वा व्यवस्थापनबारे थप छलफल गर्ने समितिले जनाएको छ ।
समितिका अनुसार हाल उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा ३८८ परिवार आश्रित छन् । अहिलेसम्म कसैले पनि राहत रकम बुझिसकेका छैनन् । राहत वितरण प्रक्रियालाई तीव्र बनाउन समितिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ । राहत प्राप्त गर्नका लागि पीडित परिवारले आफ्नो खाता नम्बरसहितको निवेदन बुझाउनुपर्नेछ।
निवेदन संकलन र खाता नम्बर प्राप्त हुनासाथ बैंकमार्फत सोझै रकम उपलब्ध गराइने समितिले जनाएको छ । खातामा पैसा जम्मा भएपछि उनीहरूले ५ दिनभित्र ठाउँ खाली गर्नुपर्नेछ ।