विष्णु पौडेललाई स्थलमार्गबाट काठमाडौँ ल्याइँदै, ललितपुर प्रहरीको हिरासतमा राखिने
विभागस्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतकै गाडीमा ल्याइँदैछ ।
काठमाडौं । सुर्खेतबाट सोमबार पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्गबाट काठमाडौँ ल्याउँदैछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा राखेर मुद्दा अनुसन्धान प्रक्रिया अगाडि बढाइने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागस्रोतले जनाएको छ । विभागस्रोतका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतकै गाडीमा ल्याइँदैछ । बाटोमा विश्राम र अन्य कारणले काठमाडौँ आइपुग्न समय लागेको हो । काठमाडौँ ल्याउनासाथ अनुसन्धानका लागि विशेष अदालतमा म्याद थपका लागि पेश गरिने र हिरासतमा राखिने स्रोतले जनायो ।
उनलाई नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर आज बिहानको जहाजबाट काठमाडौँ ल्याउने तयारी थियोे । तर, सुर्खेतबाट नेपालगन्ज नपुग्दै काठमाडौँबाट स्थलमार्ग हुँदै ल्याउन निर्देशन आएको प्रहरीस्रोतले बतायो ।