प्रतिबन्धित मुलुक कुबेत जान लागेका २७ महिला एयरपोर्टबाट प्रहरी नियन्त्रणमा, विदेश पठाउने गिरोहको खोजी

फ्लाई दुबईको उडानबाट ओमनको राजधानी मस्कट हुँदै कुवेत जाने रुट तय

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २२ देखि २९ वर्ष उमेरसम्मका २७ महिला ‘भिजिट भिसा’ अर्थात् पर्यटकका रूपमा विदेश जान लागेको सुईंको पाएपछि नियन्त्रणमा लिएको बताईएको छ

काठमाडौं । भिजिट भिसामार्फत खाडी मुलुकतर्फ जान लागेका २७ महिलालाई प्रहरी नियन्त्रणमा लिइएको छ । बुधवार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका १२ र १५ गरी दुई समूहका २७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २२ देखि २९ वर्ष उमेरसम्मका २७ महिला ‘भिजिट भिसा’ अर्थात् पर्यटकका रूपमा विदेश जान लागेको सुईंको पाएपछि नियन्त्रणमा लिएको बताईएको छ । ओमन जान उडेका भएपनि ति महिलाहरु रोजगार प्रतिविन्धित मुलुक कुबेत जान लागेको पाइएको छ । पक्राउ गरिएका महिलाहरुसँग ओमनको भिसा, टिकट र होटल डकुमेण्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि विमानस्थल अध्यागमनले शंकाका आधारमा निगरानी गरेको थियो । अध्यागमनले शंका गरेपछि प्रहरीले गरेको अनुसन्धानमा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिसा देखिएकाले विदेश पठाउने गिरोहको खोजी गर्न उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फ्लाई दुबईको उडानबाट ओमनको राजधानी मस्कट हुँदै कुवेत जाने रुट तय भएको बताइएको छ । कुवेतमा घरेलु कामदारका रूपमा स्थानीय एजेण्टले नेपाली महिलाको अनुहार हेर्दै छानेर लैजाने र कुनै घरमा कामदारका रूपमा राख्ने प्रचलन बढ्दो छ । अवैध माध्यमबाट कुबेत गएका महिला शारीरिक यातना देखि यौनजन्य हिंसामा पर्ने गरेको पाईन्छ ।