‘१० पुस्ते सम्बन्ध र विगत केलाएर मात्रै सेबोन अध्यक्ष नियुक्त गर्छौं’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दाग नलागेको र विगतका गतिविधि केलाएर सही व्यक्ति नियुक्त गरिने बताएका छन् ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दाग नलागेको र विगतका गतिविधि केलाएर सही व्यक्ति नियुक्त गरिने बताएका छन् ।

उनले अध्यक्षमा नियुक्त हुने व्यक्तिको दश पुस्ते सम्वन्ध र गतिविधि केलाएर नियुक्त गर्न लागिएको बताए ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘हामीले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि मानिस चुनिसकेका छौं । तर, त्यसका लागि पनि उसलाई राम्रोसँग हेरेर, अध्ययन गरेर १० पुस्ते सम्बन्धहरु केलाएर, विगतका गतिविधिहरु हेरेर नियुक्ती गर्नेमा लागि परेका छौं ’ उनले बताए । बीमा प्राधिकरणमा नियुक्त हुने अध्यक्षको हकमा पनि त्यसै गरिने उनले बताए । ‘हामी सही मानिस ल्याउने छौं । बीमा प्राधिकरणको हकमा पनि त्यहि हुनेछ ।’ उनले बताएका छन् । उनले सो क्षेत्रबारे बुझेको, नियामकिय अनुभव भएको र स्वच्छ छवि भएको व्यक्तिलाई अध्यक्ष नियुक्ती गर्ने बताए ।