पालिका सीईओहरुलाई आचारसंहिताः ठेक्कापट्टामा नातेदारलाई 'फेवर' गर्न नपाईनेदेखी जुवातास खेल्न रोकसम्म (पूर्णपाठ)

आचारसंहिता पालना भए/नभएको अनुगमन गर्ने जिम्मेवारी मन्त्रालयको सचिव र उपसचिवलाई

सेवाग्राही, ठेकेदारहरूको सौजन्यमा होटल वास, खाजाखाना, सवारी तथा अन्य कुनै सुविधा लिन, कसैको निजी निवासमा भेट्न निषेध गरिएको छ ।

काठमाडौं । सरकारले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्थात् पालिकाहरुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूका लागि आचारसंहिता जारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको प्रमुख प्रशासकीय अधिकृतहरूको सदाचारिता, कार्यसम्पादन शैली र सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिएको छ ।

खरिद प्रक्रिया वा ठेक्कापट्टामा आफ्ना नजिकका नातेदारलाई लाभ पुग्ने गरी कुनै पनि प्रभाव पार्न नपाइने व्यवस्था आचारसंहितामा ल्याईएको छ । कुनै पनि व्यक्ति वा संस्थाबाट उपहार, चन्दा वा आतिथ्यता स्वीकार गर्न रोकिएको छ । संघीय सरकारको पूर्व स्वीकृति बिना वैदेशिक भ्रमण, तालिम वा गोष्ठीमा सहभागी हुन, कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, तासजुवा खेल्न नहुने पनि आचारसंहितामा उल्लेख छ । 

मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको आचारसंहितामा कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि फेसबुक, ट्वीटर (एक्स), ह्वाट्सएप, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न नपाई व्यवस्था गरिएको छ । सेवाग्राही, ठेकेदारहरूको सौजन्यमा होटल वास, खाजाखाना, सवारी तथा अन्य कुनै सुविधा लिन, कसैको निजी निवासमा भेट्न निषेध गरिएको छ ।

त्यस्तै अवदेखी प्रशासकिय अधिकृतहरुले सामाजिक सञ्जालमा कार्यालयको कामप्रति गुनासो पोख्न, सहकर्मीको मानमर्दन हुने गरी प्रतिक्रिया दिन र तीनै तहका सरकार (स्थानीय तह, प्रदेश र संघीय सरकार) को निर्णयहरुको गलत व्याख्या गर्न नपाईने व्यवस्था गरिएको छ । सामाजिक सञ्जालमा राजनैतिक पूर्वाग्रह, सरकारी सेवाको मर्यादा र आस्थामा आँच आउने गतिविधि गर्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

आचारसंहिताले अधिकृतहरूलाई जिम्मेवारीप्रति लगनशील हुन र कार्ययोजना बनाएर नतिजामूलक काम गर्न निर्देश गरेको छ । कार्यालय समयमा बाहिर जाँदा अनिवार्य रूपमा 'लगबुक’ मा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ । आचारसंहिता पालना भए/नभएको अनुगमनका लागि सम्बन्धित मन्त्रालयको सचिव र उपसचिवलाई जिम्मेवारी दिइएको छ । आचारसंहिता उल्लंघन गरेको पाइएमा कारबाही गरिने उल्लेख छ ।

प्रकाशन भएका दस्तावेजहरू

6a3161907b921_1781621136.pdf