राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन हिरासतमा राख्न अनुमति
उनीहरूमाथि राहदानी छपाइमा अनियमितता गरेको कसुरमा अनुसन्धान अघि बढाइने छ ।
काठमाडौं । विशेष अदालतले राहदानी छपाइमा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबार सो अनुमति दिएको हो ।
उनीहरूमाथि राहदानी छपाइमा अनियमितता गरेको कसुरमा अनुसन्धान अघि बढाइने छ । राहदानी छपाइका लागि टेण्डर पाएको पुरानो कम्पनीसँग सम्झौता अवधि सकिएसँगै अहिले दुईवटा जर्मन कम्पनी भेरिडोस र मुलबरले राहदानी छपाइको टेण्डर पाएको र सोही खरिद प्रक्रिया प्रकरणमा छानबिनका लागि महानिर्देशक पक्राउ परेको जनाइएको छ ।