शिक्षक सरुवासम्बन्धी ३ सर्तसहित देशभर सर्कुलर, जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक

७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

काठमाडौँ ।  शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन दिएको छ ।

देशभरका स्थानीय तहहरूलाई सोमबार पत्र लेख्दै महाशाखाले स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको छ । त्यस्तै, महाशाखाले खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा गर्न भनेको छ ।

त्यसबाहेक ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ । यो निर्णयसँगै अब शिक्षक सेवा आयोगको विज्ञापनमा परेका पदहरू र बढुवाको पर्खाइमा रहेका शिक्षकहरूको सरुवा प्रक्रिया तत्कालका लागि प्रभावित हुने भएको छ ।