भारतीय अवरोधले मुख्य सिजनमै चिया उद्योग बन्द गर्ने घोषणा, ३ हजार किसान संकटमा
सूर्योदय नगरपालिकामा मात्रै ३३ हजार ६ सय ५५ रोपनीमा चिया खेती हुन्छ, जहाँबाट वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गर्दछ ।
काठमाडौं । नेपाली चियाको मुख्य सिजनमै भारतीय पक्षले विभिन्न बहानामा निर्यातमा अवरोध गरेपछि चिया उद्योगीहरूले कारखाना नै बन्द गर्ने घोषणा गरेका छन् । भारतको पछिल्लो नीतिगत झमेलाका कारण चिया बिक्री नभएपछि इलामको सूर्योदय नगरपालिकाका ५३ चिया उद्योगहरूले आगामी असार १ गतेदेखि उत्पादन पूर्ण रूपमा ठप्प पार्ने निर्णय गरेका हुन् ।
उद्योगीहरूको यो बाध्यताकारी कदमले इलामका करिब ३ हजार चिया किसानहरू ठूलो आर्थिक संकटमा पर्ने भएका छन् । सूर्योदय नगरपालिकामा मात्रै ३३ हजार ६ सय ५५ रोपनीमा चिया खेती हुन्छ, जहाँबाट वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गर्दछ । उद्योग बन्द भएसँगै किसानको बगानमा रहेको चिया बोटमै खेर जाने अवस्था आएको छ ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार नेपाली भन्सार पार गरेर भारतको कोलकाता पुगिसकेको २ लाख किलोभन्दा बढी तयारी चिया त्यहाँका गोदाममै थन्किएको छ । गोदाममा चिया अड्किँदा एकातिर गोदाम भाडा को आर्थिक भार थपिएको छ भने अर्कोतिर प्राविधिक कारणले चियाको गुणस्तर बिग्रने जोखिम बढेको छ । यसबाहेक, नेपालकै उद्योगहरूमा पनि १० लाख किलोभन्दा बढी तयारी चिया ठम्प भएर बसेको छ । तयारी चिया बिक्री गरेर नगद प्रवाह नभएपछि किसानलाई हरियो पत्तीको भुक्तानी दिन नसकिने स्थिति आएकाले कारखाना बन्द गर्नुको विकल्प नरहेको एसोसिएसनका महासचिव गोपाल कट्टेलले बताए ।
नेपालमा यतिबेला 'फर्स्ट फ्लस' (पहिलो टिपाइ) को प्रिमियम चिया बजारमा पठाउने मुख्य सिजन हो । तर, भारतीय चिया बोर्डले गत मे १ देखि नयाँ 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर' लागू गर्दै नेपाली चियामाथि कठोर बन्देज लगाएको छ । यसअघि निजी प्रयोगशालामा पनि चिया परीक्षण हुने गरेकोमा अहिले अनिवार्य सरकारी ल्याबमै गर्नुपर्ने झन्झटिलो नियम बनाइएको छ । यसअघि प्रतिगाडी (कन्टेनर) चियाको नमूना परीक्षण हुने गरेकोमा, अहिले कोलकाता पुगेपछि प्रत्येक बोराको छुट्टाछुट्टै गुणस्तर परीक्षण गर्नुपर्ने अव्यावहारिक नियम थपिएको छ । यसअघि वैशाख २७ गते उद्योगीहरूले काठमाडौँ आएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि गुहारेका थिए । त्यसपछि भारतीय पक्षले केही खुकुलो बनाएको नाटक गरे पनि भित्री रूपमा 'बोरा परीक्षण'को कडा नियम लगाएर नेपाली चियालाई बजार पुग्नै नदिने रणनीति लिएको उद्योगीहरूको आरोप छ ।
नेपालबाट वार्षिक निर्यात हुने ७० लाख किलो अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारतीय बजारले मात्र ओगट्छ । भारतको यो नीतिगत प्रहारले नेपालको चिया क्षेत्र मात्र होइन, समग्र ग्रामीण अर्थतन्त्र नै धराशयी हुने खतरा बढेको छ ।