टेम्पो भीरबाट फालेको विषयमा वन कार्यालयले भन्यो-‘फलामे अस्थिपञ्जर दुर्घटनावश भिरबाट खस्यो’
कार्यालयले जनाएअनुसार करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध रूपमा खोका-छाप्रा बनाइएको थियो । सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो टेम्पो चल्ने अवस्थामा रहेको सवारी नभई चक्का र इन्जिन बिग्रिएको, सार्नसमेत कठिन हुने कवाडी संरचना मात्र भएको दाबी वन कार्यालयको रहेको छ ।
काठमाडौं । धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका-४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा रहेको टेम्पो भीरबाट खसालेको भन्ने विषय डिभिजन वन कार्यालय कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले उक्त घटनाबारे गलत बुझाइ नहोस् भनी वास्तविकता स्पष्ट पारेको छ । कार्यालयका अनुसार सो क्षेत्र चुरे भेगअन्तर्गत पर्ने अत्यन्त संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली भएको वन क्षेत्र भएको र लामो समयदेखि सडक किनारको सार्वजनिक वन जमिनमा गैरकानुनी रूपमा भागबण्डा गर्ने, खोका-छाप्रा बनाउने र सरकारी जग्गा अतिक्रमण गर्ने गतिविधि हुँदै आएको छ । वन प्रशासनले यसलाई समय-समयमा नियन्त्रण गर्दै आएको बताइएको छ ।
कार्यालयले जनाएअनुसार करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध रूपमा खोका-छाप्रा बनाइएको थियो । सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो टेम्पो चल्ने अवस्थामा रहेको सवारी नभई चक्का र इन्जिन बिग्रिएको, सार्नसमेत कठिन हुने कवाडी संरचना मात्र भएको दाबी वन कार्यालयको रहेको छ । सो टेम्पोलाई पसलको टहरोको रूपमा प्रयोग गरेर वन क्षेत्र अतिक्रमण गरिएको कार्यालयको भनाइ छ ।
यसअघि एक महिना अघि नै सो संरचना हटाउन निर्देशन दिइएकोमा अन्य केही छाप्रा हटाइए पनि सो टेम्पोका सञ्चालक घनश्याम धामीले नहटाएको र वन कर्मचारीले धकेलेर उनको घरसम्म पुर्याइदिएको समेत उल्लेख छ । पछि सोही व्यक्ति फेरि टेम्पो ल्याएर सोही स्थानमा राखी पसल सञ्चालन गर्दै आएको बताइएको छ । पुनः हटाउन निर्देशन दिँदा समेत उनले अटेरी गर्दै अपशब्द प्रयोग गरेको र हटाउन अस्वीकार गरेको कार्यालयको भनाइ छ । जेठ २९ गते अतिक्रमण हटाउने अभियानका क्रममा सो कवाडी टेम्पो हटाउने प्रयास गर्दा भिरालो जमिन र असन्तुलनका कारण अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको वन कार्यालयको दावी छ ।
तर सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा टेम्पो धकेलेर भीरमा लडाइएको स्पष्ट देखिएको छ । सामाजिक संजालमा टेम्पो भीरबाट फालिएको विषयको चौतर्फी आलोचना भइरहेको छ ।