नेप्सेमा ४ अंकको गिरावट, कारोबार ४ अर्ब ३४ करोड नाघ्यो
शुक्रबार नेप्से परिसूचक ४.०० अंक घटेर २७२४.०३ विन्दुमा झरेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक ४.०० अंक घटेर २७२४.०३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ ।
उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ४ उपसमूह हरियालीमा रहे भने ९ उपसमूहमा गिरावट देखियो। म्युचुअल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सूचक बढेका छन्। घटेका उपसमूहहरूको गिरावट भने ०.५० प्रतिशतभन्दा कम रहेको छ ।
परिसूचक ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि करिब १३.५ प्रतिशतले बढेको छ । कारोबारमा आएको कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १०.६६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड ५३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सिटि होटलको करिब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
शुक्रबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।