विश्वकप २०२६ को अवैध प्रसारण रोक्न प्राधिकरणको कडा कदम: ३५ वेबसाइट र एप ब्लक गर्न निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृतरूपमा (पाइरेटेड) प्रसारण गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र मोबाइल एपहरूलाई तत्काल बन्द (ब्लक) गर्न निर्देशन दिएको छ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृतरूपमा (पाइरेटेड) प्रसारण गर्ने तयारी गरिरहेका ३५ वटा वेबसाइट र मोबाइल एपहरूलाई तत्काल बन्द (ब्लक) गर्न निर्देशन दिएको छ।
प्राधिकरणले बिहीबार देशभरका मोबाइल तथा इन्टरनेट सेवा प्रदायक (ISPs) कम्पनीहरूलाई आधिकारिक पत्राचार गर्दै यस्तो कडा निर्देशन दिएको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबल–२०२६ को विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिसहोम डिजिटल प्रा.लि. (डिगो) को संयुक्त उपक्रम (HTV-DGO Broadcasting Consortium JV) ले मात्र प्राप्त गरेको प्रष्ट पारेको छ।
विभिन्न पाइरेटेड (Pirated) र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले अनधिकृत प्रसारणमा रोक लगाउन भनेको छ ।
प्राधिकरणकी सहायक निर्देशक सुनिता पाण्डेले सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेकी हुन् ।
प्राधिकरणले रोक लगाउन निर्देशन दिएका प्लेटफर्मको सूचीमा kick.com, freeplyrr, sportzfy, sportzfyapp.cc, cricfytv, cricty.net, smartric.com, webcric.eu, yasin-tv.net, streameast.to, र ronaldo7.net लगायत रहेका छन् । दर्शकलाई भने आधिकारिक प्रसारण माध्यममार्फत मात्र खेल हेर्न आग्रह गरिएको छ ।