आठ विश्वविद्यालय उपकुलपतिका लागि ७७ जना परे सर्टलिस्टमा, को को हुन् ?
शुक्रबार त्रिभुवन, पोखरा, पूर्वाञ्चल, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूर पश्चिम र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरिएको हो ।
काठमाडौं । आठवटा विश्वविद्यालयको उपकुलपतिको अल्पसूची (सर्टलिस्ट) सार्वजनिक भएको छ ।
उपकुलपति सिफारिस गर्न गठित समितिले शुक्रबार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरिएको हो । विज्ञले दिएको नम्बरको आधारमा अल्पसूचि सार्वजनिक गरिएको सिफरिस समितिले जानकारी दिएको छ ।
सूचीमा समावेश भएका उम्मेदवारहरूका सम्बन्धमा २०८३ जेठ २५ गतेभित्र राय सुझाव दिन भनिएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।
गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिको लागि खुला आवेदन माग गरिएको थियो । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
विश्वविद्यालयका कुलपति बालेन शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए । समितिले फेरी विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएको थियो र विज्ञ समितिले दिएको नम्बरको आधारमा सर्टलिस्ट तयार गरिएको हो ।