वैदेशिक रोजगार विभागले उजुरी चाँडो नटुंग्याए म्यानपावर व्यवसायीलाई कारबाही गर्ने, सम्झायो कानून

राहत तथा उद्धार शाखामा दर्ता भएका उजुरीरनिवेदन तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कानुनी व्यवस्था विपरीत भएका गतिविधिबारे प्राप्त गुनासा फर्छ्योट गर्ने पहिलो दायित्व म्यानपावर व्यवसायीकै भएको पनि विभागले सम्झाएको छ ।

काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायी विरुद्ध परेका उजुरी तथा निवेदन चाँडो टुंग्याउन निर्देशन दिएको छ ।

विभागले श्रम स्वीकृति लिएर विदेश गएका तथा विभिन्न समस्यामा परेका वा विदेशबाट फर्किएका श्रमिकले दर्ता गराएका उजुरी तथा निवेदन चाँडो टुंग्याउन बिहीबार सम्बन्धित म्यानपावर व्यवसायीलाई निर्देशन दिएको हो ।

विभागमा दर्ता भएका उजुरी तथा निवेदनको सम्बोधन गरी पीडित श्रमिकको समस्या समाधान गर्न पटक-पटक पत्राचार, सम्पर्क तथा निर्देशन दिइए पनि म्यानपावर व्यवसायीहरुले समाधान नखोजेको दावी गरिएको छ । राहत तथा उद्धार शाखामा दर्ता भएका उजुरीरनिवेदन तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कानुनी व्यवस्था विपरीत भएका गतिविधिबारे प्राप्त गुनासा फर्छ्योट गर्ने पहिलो दायित्व म्यानपावर व्यवसायीकै भएको पनि विभागले सम्झाएको छ ।

विभागले श्रमिक हित ध्यानमा राख्दै विचाराधीन सबै उजुरी तथा निवेदन अनिवार्य फर्छ्योट गर्न सम्बन्धित व्यवसायीहरुलाई सूचित गरेको छ । उजुरी फर्छ्योट नगर्ने तथा अटेर गर्ने संस्थाविरुद्ध वैदेशिक रोजगार ऐन २०६४ को दफा ३६ र दफा ५७ बमोजिम कानुनी कारबाही अगाडि बढाइने चेतावनी विभागले दिएको छ ।

विगतमा श्रमिकसँग विभागमा आएर गरेको मिलापत्र तथा सम्झौता अनुसार फर्छ्योट नगरेको खण्डमा कारबाही गर्ने चेतावनी दिँदै विभागले कानुनी दायित्व पूरा गरी श्रमिकका समस्या समाधानमा सक्रिय हुन व्यवसायीहरुलाई आग्रह गरेको छ ।