सानिगाड हाइड्रोको आइपिओ आजदेखि खुला, सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता
४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको छ । यस निष्कासनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
काठमाडौँ । सानिगाड हाइड्रोले सर्वसाधारणका लागि आजदेखि प्राथमिक सेयर निष्कासन (आइपिओ) गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीका अनुसार प्राथमिक सेयरमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा निष्कासन अवधि असार १ गतेसम्म लम्ब्याइनेछ । कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता सेयर बझाङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई यसअघि नै वितरण गरिएको थियो । बाँकी २० प्रतिशत अर्थात् ५७ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो । सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।
त्यसैगरी कुल निष्कासनमध्ये ३ प्रतिशत अर्थात् १ लाख ७१ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको छ ।
यस निष्कासनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्रएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
सानिगाड हाइड्रो सन् २००७ डिसेम्बरमा निजी कम्पनीका रूपमा स्थापना भएको थियो । पछि सन् २०२१ जुलाई १४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा ३८ दशमलव ४६ मेगावाट क्षमताको माथिल्लो कालंगा गाड जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।